लाभांश घोषणाले एनबी बैंकमा लगानीकर्ताको ओईरो,नेप्से र कारोबार दुवैमा बढोत्तरी

यस साताको पहिलो दिन आइतबारको शेयरबजारमा नेप्से तथा कारोबार रकम दुवैमा बढोत्तरी आएको छ । आइतबार नेप्से १४.६५ अंकले उकालो लागको छ भने कारोबार रकम समेत अघिल्लो कारोबारको तुलनामा करिब तीस करोड रुपैयाँले बढेको छ ।नेप्सेमा सूचिकृत कम्पनीहरुले गतबर्षको कमाईबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि बजारमा उत्साह थपिदै गएको देखिन्छ । ३२ प्रतिशत बोनशपछि ८० प्रतिशत हकप्रद घोषणा गरेको एनबी बैंक आजको बजारमा लगानीकर्ताको पहिलो रोजाईमा परेको आइतबार शेयर बजार परिसूचक नेप्से १४.६५ अंकले उकालो लागेर १८१९.८३ विन्दुमा पुगेको छ । १ सय ४६ कम्पनीको कारोबार भएको बजारमा १ अर्ब ६४ करोड ९५ लाख रुपैंया बराबरको शेयर किनबेच भएको छ ।

 अघिल्लो कारोबारको तुलनामा कारोबार रकम झण्डै ३० करोड रुपैंयाले बढेको छ । होटल,वाणिज्य बैंक, विकास बैंक र बीमा समूह उकालो लागेको बजारमा उत्पादन, जलविद्युत,वीत्त र अन्य समूह भने ओरालो लागेका छन् । यसदिन होटल समूह सबैभन्दा बढी २९ अंकले बढेको छ भने उत्पादन मुलुक समुह सबै भन्दा धेरै ४४ दशमलव ६२ अंकले घटेको छ । गतबर्षको मुनाफाबाट ३२ प्रतिशत बोनशशेयर र त्यसपछि ८० प्रतिशत हकप्रद घोषणा गरेपछि एनबी बैंकमा लगानीकर्ताको ओईरो लागेको छ । आइतबार एनबी बैंकको मात्रै २ लाख ६४ हजार कित्ता शेयर ३२ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । बैंकको शेयरमूल्य समेत ६.७५ प्रतिशत अर्थात प्रतिकित्ता ७७ रुपैयाँले बढेर १२१८ रुपैयाँ पुगेको छ । यसपछि उच्च कारोबार गर्ने इन्भेष्टमेन्ट बैंकले १४ करोड बढी र सिद्धार्थ बैंकले १२ करोड बढीको कारोबार गरेका छन् ।


 माछापुच्छ्रे,एभरेष्ट,एनएमबि,सनराइज लगायतका वाणिज्य बैंकहरुको उच्च कारोबार भएको छ ।आइतबारको बजारमा वाणिज्य बैंक समूहको मात्रै एक अर्ब १५ करोड बराबरको कारोबार भएको छ । जसमा आधा हिस्सा एनबी, इन्भेष्टमेन्ट र सिद्धार्थ बैंकले ओगटेका छन् । यी तीन बैंकको मात्रै ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।बढ्दो बजारमा राप्तीभेरी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् यो कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट र जेबील्स फाइनान्स्को पनि करिब दश प्रतिशतकै हाराहारीमा बढेको छ । सप्तकोषी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य पाँच प्रतिशत बढीले घटेको छ । विजय लघुवित्त, सिन्धु विकास, हामा मर्चेन्ट, युनाईटेड फाइनान्स अरनिको डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले धेरै गुमाउनेमा परेका छन् ।

0 comments

Write Down Your Responses