नेपाल बंगलादेश बैंकले ३२ प्रतिशत बोनसपछि ८० प्रतिशत हकप्रद जारी गर्ने

नेपाल बंगलादेश बैंक(NBB)ले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ३२ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको शुक्रबार साँझ बसेको बैठकले ३२ प्रतिशत बोनस र त्यसको कर प्रयोजनका लागि १.७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

 बैकले बोनस शेयर बितरण पछि हुन आउने पूँजीमा गत बर्ष घोषणा गरिएको ८० प्रतिशत हकप्रद शेयर जारी गरिने कुरा पनि स्पष्ट गरेको छ ।नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हाल प्रस्तावित बोनसपछि हुन आउने चुक्ता पूँजीमा गत बर्ष घोषणा गरिएको ८० प्रतिशत हकप्रद जारी गरिने निर्णय भएको स्पष्ट गर्नुभयो । तीन अर्ब ३ करोड चुक्ता पूँजी रहेको नेपाल बंगलादेश बैंकले गत बर्ष एक अर्ब १९ करोड खुद नाफा गरी प्रति शेयर आम्दानी ३९ रुपैयाँ कायम गरेको थियो । ३२ प्रतिशत बोनस शेयर जारी गरेपछि चुक्ता पूँजी ३ अर्ब ९९ करोड पुग्ने छ भने त्यसको ८० प्रतिशत हकप्रद जारी गर्दा चुक्ता पूँजी ७ अर्ब १८ करोड नाघ्ने छ । राष्ट्र बैंकले तोकेको न्युनतम चूक्ता पूँजी ८ अर्ब पुर्याउन बैंकले चालु आर्थिक बर्षको खुद नाफाबाट सजिलै सक्ने छ । बंगलादेश बैंक लाभांश घोषणा गर्ने बाणिज्य बैंकहरु मध्येमा यसपटक चौथो भएको छ ।

 बोनस शेयरको प्रतिशत हिसाब गर्दा पहिलो मान्न सकिन्छ । यसअघि नेपाल ईन्भेष्टमेन्ट बैंकले २०, एनआईसी एशियाले २६ र सिटिजन्स बैंकले २४.४९ प्रतिशत बोनस घोषणा गरेका थिए । नेपाल ईन्भेष्टमेन्ट बैंकले २१ प्रतिशत नगद लाभांश समेत गरी लाभांश प्रस्ताव पारित गराउन साधारणसभासमेत बोलाईसकेको छ । यसआधारमा हेर्दा यी चारवटै बैंकले दशै अगावै साधारणसभा गरी लगानीकर्तालाई बोनस बाँडेर दशै उपहार दिने संभावना बढेको छ । बंगलादेश बैंकमा बंगलादेही साझेदारहरुको ४२ प्रतिशत हिस्सा रहेको छ । एनबी समूहले केही बर्ष अघि धरासायी बनाएकोमा राष्ट्र बैंकले नियन्त्रणमा लिई सुधारेपछि बंगलादेश बैंकले बिगत केही बर्षदेखि क्रमबद्ध प्रगति गर्दै आएको छ ।

0 comments

Write Down Your Responses