यसकारण खुम्चिँदैछ कांग्रेसमा कोइराला 'लिगेसी'

२००६ को चैत ३० गते। तत्कालीन राणा शाशनविरुद्ध लड्न एउटा समूह कलकत्ताको टाइगर सिनेमा हलमा जम्मा भयो। तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसको विषेश सम्मेलनमा सहभागी हुन भारतमा निर्वासनमा बसेका बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, देवव्रत परियारसहितको सक्रियातामा उक्त सम्मेलन हुन लागेको थियो। सम्मेलनमा एक वर्षअघिमात्रै सुवर्णशमशेरको पहलमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेससँग एकीकरण गर्ने मुख्य एजेन्डा थियो। अन्ततः राणा शासनविरुद्ध क्रियाशील यी दुई पार्टी एकीकरण भए । प्रजातन्त्र ल्याउन संघर्ष गर्ने कार्यदिशा सम्मेलनले पारित गर्‍यो। सम्मेलनबाटै त्यति बेला भारतमा बसेर नेपालको निरंकुश राणा शासनविरुद्ध अभियान थालेका कलकत्ताको गोरखा कांग्रेस र वनारसको नेपाली छात्र संघ पनि सम्मिलित भयो।एकीकृत नेपाली कांग्रेसलाई सुरुमा डिल्लीरमण रेग्मीले नेतृत्व गरे। तर, लगत्तै नेतृत्वमा पुगे मातृकाप्रसाद कोइराला। बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्याय र रुद्रप्रसाद गिरी पार्टीको संस्थापकका रूपमा विभिन्न विभागको संयोजकका रूपमा सक्रिय भए।२००७ सालमा मातृकाप्रसाद कोइरालाले नेतृत्व गरेको दुई वर्षमै कांग्रेसको नेतृत्व बीपी कोइरालाको काँधमा आयो। २०१२ सालमा वीरगन्जमा भएको छैटौं अधिवेशनबाट सुवर्णशमशेर पार्टी सभापति निर्वाचित भए । त्यसको दुई वर्षपछि २०१४ सालमा विराटनगरमा भएको विशेष महाधिवेशनबाट फेरि पार्टीको नेतृत्व बीपी कोइरालामै पुग्यो।

 त्यसपछिको पञ्चायती शासनमा कांग्रेसको नेतृत्व परिवर्तन नै भएन। २०३९ साउन ६ गते बीपीको निधनपछि कांग्रेसको नेतृत्व कार्यवाहकका रूपमा कृष्णप्रसाद भट्टराईले लिए। त्यसपछि २०४८ मा भएको महाधिवेशनबाट भट्टराई पार्टी सभापति चयन भए। २०५३ मा पोखरामा भएको महाधिवेशनबाट पार्टीको नेतृत्व गिरिजाप्रसाद कोइरालामा पुग्यो । उक्त अधिवेशनमा गिरिजाप्रसादले पार्टीमा नातावाद हावी गरेको र मनोमानी ढंगबाट पार्टी चलाएको भन्दै सर्वमान्य नेता गणेशमान सिंहले महाधिवेशन नै बहिष्कार गरे। २०५३ पछि भएका तीन महाधिवेशनमा सुरुका दुईमा गिरिजाप्रसाद र उनको निधनपछि उनका भाइ सुशील नेतृत्वमा पुगे!कोइराला परिवारभित्र नेतृत्वका लागि अग्रसर भएका बीपीपुत्र शशांक र गिरिजाप्रसादकी छोरी सुजातामा पनि संगठन हाँक्ने कौशल देखिँदैन। उनीहरू कोइरालाको लिगेसी समातेर कांग्रेस नेतृत्वमा जान लालायित देखिन्छन् तर बदलिँदो परिस्थिति, नयाँ पुस्ता र आधुनिकीकरणसँग जुध्न उनीहरूको पारिवारिक लिगेसीले मात्रै सम्भव छैन। कोइराला परिवारभित्रै शेखरमा केही वैचारिक र सांगठनिक कला देखिन्छ। तर, उनी सुशीलको पार्टी नेतृत्वमा लैजाने लिस्टमा छैनन्। झन्डै पाँच दशक नेतृत्वमा राख्न सफल भएका कोइराला परिवारबाट के अब कांग्रेस नेतृत्व 'सिफ्ट' होला त ? ‘परिवार, जात, त्यागले मात्रै अब पार्टी चल्दैन भन्ने आमकार्यकर्ताको भावना छ', कांग्रेसका अर्का पुराना नेता तीर्थलाल श्रेष्ठले भने, 'लोकतन्त्रको रक्षा गरी समतामूलक समाजतर्फ अघि बढ्ने गरी आर्थिक, सामाजिक र भौतिक विकासको एजेन्डा समाउन क्षमतावान् नेतृत्व कांग्रेसमा हुनुपर्छ।' कांग्रेसमा अब पुरानो पुस्तालाई नयाँ पुस्ताले 'रिप्लेस' गर्दैछ। २०४६ को प्रजातन्त्र बहालीपछि जन्मिएकाहरू पार्टी राजनीतिमा बढी छन् ।



 यसले गर्दा पनि कोइराला परिवारको लिगेसीबाट राजनीतिक सुरक्षा पाइरहने सम्भावना अब कमजोर हुँदै गएको छ। यो महाधिवेशनपछि दोस्रो पुस्ता होइन, तेस्रो पुस्ता पार्टी नेतृत्वमा पुग्ने देखिन्छ।पार्टीभित्र कोइराला परिवारको कब्जाबाट नेतृत्व बाहिर लैजान वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सक्रिय भएका छन्। उनीहरूले पार्टीलाई एउटा जात र परिवारको कब्जाबाट बाहिर लगेर सबै जाति, समुदाय र क्षेत्रको पार्टीमा रूपान्तरण गर्नुपर्ने भन्दै पार्टी आधुनिक र विचारप्रधान बनाउनुपर्ने एजेन्डा अघि सारेका छन्। पछिल्लो समय झन्डै साढे पाँच वर्ष नेतृत्व गरेको सुशीलको कार्यक्षमताको यो महाधिवेशनमा समीक्षा हुनुपर्ने आवाज बलियो हुँदै गएको छ।पार्टी सभापति र प्रधानमन्त्री दुवैमा असफलताको आरोप सुशीलले खेप्नु परेको छ। राष्ट्रपति हुने सहज बाटो छोडेर पछिल्लो समय पराजित प्रधानमन्त्री बनेका सुशील कोइराला परिवारभित्रै पार्टी नेतृत्व राखिराख्ने रणनीतिका कारण कांग्रेस कमजोर भएको बुझाइ धेरैको छ। 'आधुनिक लोकतन्त्रसँगै कोइरालाको लिगेसी कांग्रेसमा कमजोर हुँदै गएको छ', सिंहले भने, 'पछिल्लो समय प्रधानमन्त्रीमा उम्मेदवार बनेर कांग्रेसलाई आफ्नै परिवारभित्र राख्ने सुशीलको रणनीति आमकार्यकर्ता तहसम्म छताछुल्ल भएको छ। यसले कोइराला वंशको नेतृत्वबाट कांग्रेसलाई अन्त्य गर्ने सम्भावना बढाएको छ।' ‘बीपी अन्तर्राष्ट्रिय स्तरका नेता थिए। उनमा विचारका साथै संगठन गर्ने क्षमता र कार्यकर्तालाई आकर्षण गर्ने कला थियो' , श्रेष्ठले भने, 'त्यो स्तरको नेतृत्व त्यसपछि कांग्रेसमा विकास हुन नसक्नु दुर्भाग्य हो।' गिरिजाप्रसाद कोइरालामा विचारशून्यता भए पनि संगठन आफ्नो कब्जामा राख्ने कौशल भने थियो। समकालीन राजनीतिज्ञहरूमा भन्दा गिरिजाप्रसादमा राजनीतिक ट्याक्टिस र तिकडम गर्ने क्षमताका कारण उनी बाँचुन्जेलसम्म पार्टी र मुलुकको नेतृत्व उनकै वरिपरि घुमेको थियो। सुशील कोइरालामा भने वैचारिक र राजनीतिक चतुर्‍याइँ दुवै देखिँदैन।

0 comments

Write Down Your Responses