संशोधनमा किन चित्त बुझाएन मोर्चाले ?

माघ १४, २०७२- नयाँ संविधान कार्यान्वयनमा नजादै मधेस आन्दोलनलाई सम्बोधन गर्न चार महिनामै गरिएको पहिलो संशोधनले साढे ५ महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको चित्त बुझाउन सकेन । जसको माग र दवाबमा संशोधन गरियो उनीहरू नै त्यसप्रति सन्तुष्ट छैनन् । मोर्चाले उठाएका प्रमुख मागमध्येको राज्यका निकायमा समावेशी समानुपातिक प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको सवाललाई संशोधन गर्न समानुपातिक समावेशी सम्बन्धी धारा ४२ र निर्वाचन क्षेत्रसम्बन्धी धारा ८४ र २८६ लाई संशोधन गरिएको छ । संशोधनपछि मधेस आन्दोलन र भन्सार नाकाको अवरोध हट्ने सरकारी अपेक्षाविपरीत मोर्चाले आन्दोलनलाई निरन्तरता दिइएको छ । यद्यपि प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले मोर्चाले उठाउँदै आएको दुइटा महत्वपूर्ण विषयलाई संशोधनले सम्बोधन गरेको दाबी गर्दै आएका छन् ।

 संविधान संशोधनको दुई दिनपछि माघ ११ मा बसेको मोर्चा बैठकले जबर्जस्ती संविधान जारीकै शैलीमै एकतर्फी रूपमा गरिएको संशोधनले आफ्ना मागहरुको सम्बोधन नभएकाले मान्य नहुने दाबी गर्दै आन्दोलनलाई निरन्तरता दियो । असोज ३ मा संविधान जारी भएको दुई सातापछि नै असोज २० मा उक्त दुइटा धारामा संशोधनका लागि तात्कालीन कांग्रेस नेतृत्वको सरकारले सदनमा संशोधन विधेयक दर्ता गराएको थियो । त्यति बेलैदेखि संशोधनको भाषाप्रति असन्तुष्ट मोर्चा त्यसको बिरोधमा थियो । मोर्चालाई फकाउन त्यतिखेरको विधेयकलाई परिमार्जन गरी माघ ९ मा पारित गरिएको संशोधनले पनि मोर्चाको चित बुझाउन सकेको छैन । आखिर किन त ? संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भन्छन्– ‘मधेस आन्दोलनलाई सम्बोधन गर्न होइन कि अन्तर्राष्ट्रिय जगतलाई देखाउन र आफ्ना पार्टीभित्रको आन्तरिक समस्या मिलाउन मात्र तीन दलले संविधान संशोधनको नाटक रचेका हुन् ।

’ उनले संशोधनले आफूहरूले उठाएको राज्यका सबै निकायमा समानुपातिक समावेशी र जनसंख्याका आधारमा प्रतिनिधत्वको सवाललाई कुनै रुपमा सम्बोधन गर्न नसकेको उल्लेख गरे । मोर्चाको प्रस्ताव मधेसमा २ प्रदेश हुनुपर्ने, राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणसहितको माग लिएर साउन ३१ देखि मधेसमा आम हड्ताल र असोज ६ देखि सिमा नाकामा धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेको मोर्चा आफ्नो सम्पूर्ण मागको प्याकेजमै सम्बोधन हुनुपर्ने अडान दोहोर्‍याउँदै आएको छ । किस्ता किस्तामा होइन कि आफ्नो ११ बुँदे मागको एकैपटक सम्बोधनको अडानमा छ मोर्चा । मोर्चाले अहिले भएका संशोधित धाराका विषयमा पनि फरक प्रस्ताव दिएको थियो । समावेशी समानुपातिक प्रतिनिधित्वका लागि संविधानमा उल्लेख १७ वटा ‘कलस्टर’ लाई ८ वटामा झार्ने र निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई आधार मान्नुपर्ने मोर्चाको प्रस्ताव थियो । (हेर्नुस बक्समा मोर्चाको प्रस्ताव)

0 comments

Write Down Your Responses