टिचिङको फोन नउठ्दा सुशीललाई अस्पताल पुऱ्याउन सकिएन : डाक्टर योगी
माघ २८, २०७२- नेपाली काग्रेसका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले त्रिवि शिक्षण अस्पतालको एक्सचेन्जको टेलिफोन नउठ्दा कोइरालालाई उपचारका लागि अस्पताल लान नसकिएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले आफ्नो मोबाईल देखाउँदै भने, ‘मैले टिचिङको एक्सचेन्जमा एम्बुलेन्सका लागि १३ पटक फोन गरें तर फोन उठेन । पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई पनि टेलिफोन गरे । मैले ईन्जेक्सन लगाउँदै एम्बुलेन्स ल्याऔं भनि सल्लाह गर्दै फोन गरिरहेको थिएँ । कोइराला निवासमा सवारी साधन भए पनि अक्सिजन विनाको सवारी साधनमा लिएर जान झनै जोखिम हुने थियो ।
उनले कोइरालालाई अस्पताल भर्ना गर्न सोमबार टिचिङको ६०१ नम्बर बेड बुक गरिएको भए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आई सामान्य अवस्था बनेकोले पहिला नै अस्पताल नलगिएको स्पष्ट पारे ।
डा. योगीले भने, ‘सुशील दाईले शुक्रबार ज्वरो आए जस्तो भयो भन्नु भयो त्यसको उपचार गरियो ।
शनिबार अलि गाह्रो भयो भन्नु भयो एन्टिबायोटिक सुरु गरियो । आईतबार बिहान ६ बजे बोलाउनुभयो म साढे ६ बजे पुगे, त्यसबेला पनि उहाँको स्वास्थ्य स्थिर थियो । उहाँले जाउलो खानु भयो ज्वरो पनि थिएन । राति साढे नौ बजे म घर गए । त्यसपछि अतुलजीले फोन गरेर स्वास लिन गाह्रो भयो आउनुस भन्नु भयो ।’ उनले त्यसपछि आफू केही ईन्जेक्सन लिएर पुग्दा सुशीलको अवस्था बिग्रिसकेको पाएको पनि बताए ।
‘मैले तीनबाट ईन्जेक्सन लगाएँ, यी सबै काम गर्दा गर्दै अस्पताल लान भ्याईएन,’ उनले भने ।
उनले इन्जेक्सन लगाउने बेलामा हात थिचेर सुतेकोले आफूले इन्जेक्सन लगाउन हात निकाल्नु पर्यो भन्दा उहाँले ‘ए बुझें’ भनेर भनेको विषयलाई अपब्याख्या गरिएको पनि बताए । ‘ईन्जेक्सन लगाउँदा निस्किएर लुगामा लागेको रगत देखाएर अनेक प्रचार गरियो,’ उनले भने ।
डा. योगीले निधारमा कुनै पनि चोट नभएको दावी गर्दै सुशीलले राति शौचालय जाने बेलामा अलि लरबरिएर बेसिनको सहारा लिएको र सो क्रममा टाउकोको पछाडी अलिकति छोएको भए पनि कुनै चोट भने आफूले नपाएको बताए ।
उनले भने, ‘बाहिर आशंका गरिएजस्तो टाउकोमा चोट थिएन त्यो दाहसंस्कार गर्ने बेलामा नुहाउँदा पुष्टि भईसकेको छ ।’
डा. योगीले राती १२ बजे आफूले ईन्जेक्सन लगाएको र त्यसपछि साढे १२ बजे सीपीआर गरेको जानकारी दिदै त्यस अवस्थासम्म कोइराला बोलि नै रहेको पनि बताए ।


0 comments
Write Down Your Responses