भीआइपीको कालोबजारीमा विक्रमसिंहको ‘छापामार हमला’

काठमाडौंको प्रहरी प्रमुख भएपछि प्रायः प्रहरी हाकिमहरु गुण्डा विरुद्धको कारवाहीबाट चर्चामामा आउँथे । तर, बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाका लागि गुण्डातिर नजर लाउने मौका मिलेको छैन । कुनैबेला यस्तो पनि थियो, विक्रमसिंह थापा जहाँ पुग्थे, त्यहाँबाट गुण्डा र पेशेवर अपराधीको भागाभाग हुन्थ्यो । विक्रमको यो ‘स्टाइल’ अहिले पनि नेपालगञ्ज र भैरहवाका स्थानीयले चर्चा गर्छन् । यसपटक काठमाडौंको प्रहरी प्रमुख भएर आउँदा भने विक्रमसिंहको चुनौति गुण्डागर्दी र अपराधी भन्दा पनि कालाबजारियाहरु देखिएका छन् । संगठित कालो बजारीसँग जुध्नु प्रहरीको एउटा अफिसरका लागि चुनौतिपूर्ण छ । चुनौति र अप्ठ्यारोसँग खेल्न रुचाउने एसएसपी थापाले कालो बजारी विरुद्धको लडाइँ ठूलो माछाबाटै थाले । नेपालको प्रतिष्ठित औद्योगिक घराना केएल दुगडको गोदाम र घरमा एकैपटक छापा मारेर उनले खतरा मोलेका थिए । थापाको यो अभियानलाई प्रधानमन्त्री, गृहमन्त्री,आइजीपीदेखि सर्वसाधारणले समेत साथ दिएपछि उनी कालोबजारी विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । ठूला कालोबजारीहरुको गिरोहको लिष्ट उतार्दैछन् थापा ।

 ‘देशमा यस्तो संकट परेका बेला अरबपतिहरुले गरीवलाई सहयोग गर्नुपर्ने बेलामा उल्टो गरीबलाई जिउँदै मार्ने कालोबजार उनीहरुले नै चलाइरहेका छन्’ आफ्नै कार्यकक्षमा उजुरीका चाङ केलाउँदै थापाले भने । बाँकेको प्रहरी प्रमुख भएर नेपालगञ्ज जाँदा उनलाई त्यहाँको कुख्यात अपराधी भगतसिंहको त्रास देखाइएछ । बालबालिका अपहरण गर्ने र फिरौति नदिए हत्या गर्ने धन्दा नै चलाएका थिए भगतसिंहले । प्रहरी प्रमुखको रुपमा बाँके झर्नासाथ उनले घोषणा गरे-अब नेपालगन्जमा कि भगतसिंह छैन,कि विक्रमसिंह छैन । नभन्दै विक्रमसिंहका अगाडि भगतसिंह टिक्न सकेनन् । उनले अन्ततः विक्रमसिंह सामु आत्मसमर्पण गरे, नेपालगञ्ज अपराधमुक्त नगर बन्यो ।

 त्यस्तै रुपन्देहीको प्रहरी प्रमुख भएका बेला विक्रमसिंहले पेट्रोलमा मिसावट गर्ने र कालोबजारी गर्नेदेखि गिटी बालुवाका तस्करको दोहोलो काढे । राज्यलाई ३ अर्ब फाइदा दिलाएर उनी नेपाल प्रहरीकै अब्बल अधिकृतका रुपमा स्थापित भए । प्रहरी प्रमुखका रुपमा काठमाडौंमा आउँदा विक्रमसिंहका लागि धेरै ठूला चुनौतिहरु देखिएका छन् । राजधानीको शान्ति सुरक्षाको जिम्मा लिनुपर्ने थापा अहिले कालोबजारी र कृत्रिम अभाव नियन्त्रणको मोर्चामा डटेका छन् । थापा भन्छन्-मुलुकको जटिल अवस्थाको फाइदा उठाएर ग्यास, इन्धन र दैनिक खाद्य पदार्थको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेहरु यो समाजका सबैभन्दा ठूला अपराधी हुन् । उनीहरुले जनताको चूल्होमा हमला गरेर गरीवको हत्या गर्न खोजेकाले मैले चूप लाग्ने अवस्था रहेन ।

0 comments

Write Down Your Responses