भूकम्प पीडितलाई कांग्रेसले घात गरेको एमाले र एमाओवादी सांसदहरुको आरोप

भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुननिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको प्राधिकरण गठन सम्बन्धी बिधेयक कांग्रेसले पारित हुन नदिएको भन्दै एमाले सांसदहरुले कांग्रेसको भण्डाफोर गर्ने भएका छन् । आन्दोलनरत मधेशी मोर्चा समेत भूकम्प पीडितले सहायता पाउनुपर्छ भनेर संसद खोल्न दिन तयार भएका बेला कांग्रेसले नियतवस अवरोध गरेको भन्दै एमाले सांसदहरु कांग्रेसको भण्डाफोर गर्ने निष्कर्षमा पुगेका हुन् 

। भूकम्प अति प्रभावित १४ जिल्लाका एमाले र एमाओवादी सांसदहरुले कांग्रेस भूकम्प पीडित जनताको बिपक्षमा उभिएको आरोप लगाउदै जनतामा यो सन्देश लैजान अनौपचारिक रुपमा सहमत भएका हुन् । भूकम्प अति प्रभावित ओखलढुंगा १ का एमाले सांसद यज्ञराज सुनुवारले कांग्रेसकै कारण पुननिर्मार्ण प्राधिकरणको बिधेयक बिहीवार संसदमा पेश हुन नसकेकाले जनतालाई यो विषय जानकारी गराउन आफूहरु बाध्य भएको बताए । सुनुवारले भने-नाकाबन्दी जस्तो कडा आन्दोलन गरिरहेको मधेसी मोर्चासमेत हिमाल पहाडका भूकम्प पीडित जनताप्रति संवेनदशील बन्यो । भूकम्प पीडित जनता घर बनाउन नपाएर जाडोमा कठांगि्रएका छन् । तर आफैंलाई मत दिने जनताप्रति कांग्रेसका सांसदहरुले घात गरेकाले यो विषय हामी जनताबीच भण्डाफोरका रुपमा लैजान्छौं ।

 रामेछाप २ का एमाओवादी सांसद श्यामकुमार श्रेष्ठले भूकम्प पीडित जनताप्रति कांग्रेसले घात गरेको आरोप लगाए । ‘संसदमा प्राधिकरण गठन सन्बन्धी बिधेयक पेश हुन नदिएर कांग्रेसले भूकम्प पीडित जनताको घाउमा नूनचूक छर्ने काम गरेको छ’ श्रेष्ठले भने । एमाले र एमाओवादीका सांसदहरुले यसबारेमा शुक्रवार अनौपचारिक छलफल समेत गर्दैछन् । ‘प्राधिकरण गठन गर्ने कुरामा कांग्रेसबाट जुन अवरोध आयो यसले भूकम्प पीडित जनतामाथि घोर अपराध भएको छ,’ दोलखा १ का एमाले सांसद पार्वत गुरुङले भने ‘हामीले जनतालाई यथार्थ जानकारी गराउनुपर्छ ।’ कसका कारण भूकम्प पीडित अन्यायमा परे भन्ने कुरा जनतालाई जानकारी गराउनु जनप्रतिनिधिको कर्तव्य भएकाले आफूहरु जनताबीच जाने सांसद सुनुवारले बताए । ‘जनताप्रति यो भन्दा ठूलो बेइमानी अरु हुन सक्दैन, यसको जवाफ कांग्रेसले दिनुपर्छ,’ उनले भने ।

0 comments

Write Down Your Responses