भूकम्पपीडितको घाउमा कांग्रेसको नूनचूक ?

पुननिर्माण प्राधिकरण नबनेका कारण लाखौं भूकम्पपीडितहरुले घर बनाउने ऋणसमेत पाउन सकेका छैनन् । कठांग्रिदो जाडोमा त्रिपाल र जस्ताको टहरोमा बस्न पीडितहरु बाध्य छन् । तर, यहीबेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने भूकम्पपीडितको पीडामाथि राजनीति सुरु गरेको छ । कांग्रेस नेताहरुको जिद्दीका कारण शुक्रबार पनि पुनर्निर्माण विधेयक संसदमा पेश हुन सकेन ।

 नेपाली कांग्रेसकै सांसदहरुसमेत पार्टीको यो कदमप्रति अन्तुष्ट छैनन् र भूकम्प पीडितमाथि राजनीति गरिनु अमानवीय कार्य भएको भनिरहेका छन् । लगातार संसद बैठक अवरुद्ध पार्दै आएको मधेसी मोर्चाले बिहीबार कांग्रेससहितको बैठकमा प्राधिकरण विधेयक पास गर्न दिने बताएको थियो । तर, कांग्रेस सहमतिमा सिंहदरबारबाट बानेश्वर पुग्दासम्म टिक्न सकेन र सदन अवरुद्ध पारे । शुक्रबार सदन सुचारु गर्ने र प्राधिकरण विधेयक पास गर्नेबारे विभिन्न चरणमा छलफल भएको थियो । तर, कांग्रेसले हठ छाडेन । सिंहदरबारमा भएको मधेसी मोर्चासहितको बैठकमा अनुपस्थित भएको उसले बानेश्वर वार्तामा भने पुरानै अडान दोहोर्‍याएको छ । 

स्रोतका अनुसार शुक्रबार बसेको पदाधिकारीसहितको बैठकमा बाझाबाझ नै भएको थियो बिहीबार सिंहदरबारमा सहमति गर्ने नेताहरुले गोली नै खाए र विमलेन्द्र निधीसहितका नेताले पार्टी सभापति सुशील कोइरालालाई सिंहदरवार वार्तामा जान रोके । प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गर्दासमेत कोइराला त्रिपक्षीय वार्तामा सहभागी भएनन् । सत्तापक्ष र मधेसी मोर्चाको वार्ता भयो र मोर्चाले प्राधिकरण विधेयक मात्र पास हुन दिने बतायो । प्राधिकरणसँगै संविधान संशोधन विधेयक ल्याएमा भने सदन चल्न नदिने मोर्चाका नेताहरुले बताए । लगत्तै संसद भवन बानेश्वरमा कांग्रेससँग एमाले र एमामाओवादीले कांग्रेससँग वार्ता गरेको थियो भने कांग्रेसले मधेसी मोर्चाका नेताहरुसँग छुट्टै छलफल गरेको छ । तर, कांग्रेस र मधेसी मोर्चा दुबै आ-आफ्नो अडानमा रहे । कांग्रेसले मधेसी मोर्चालाई आइतबारसम्म सहमत गराउने भन्दै समय मागेपछि शुक्रबारको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । अर्को बैठक आइतबार बस्नेछ ।

0 comments

Write Down Your Responses