कांग्रेसमा सुरु भो ‘गुट फेरबदलको गोलचक्कर’

१३औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा नेताहरूले गुट परिवर्तन गर्ने सिलसिला बढेको छ । विशेषतः पार्टी पदाधिकारी बन्न र आफ्नो केन्द्रीय स्तरमा अहिले रहेको अस्तित्वलाई अर्को कार्यकाल पनि यथावत राख्नलाई नेताहरू आफूअनुकूल हुने गुटमा पुग्न दौडाहामा लागेका हुन् । संस्थापनबाट देउवा पक्षमा जान तयारी गर्नेहरू स्थायी रूपमा दुई गुट रहेको कांग्रेसमा वर्तमान सभापति सुशील कोइरालाले नेतृत्व गरेको संस्थापनबाट वरिष्ठ नेता शेरबहादुर देउवाले नेतृत्व गरेको देउवा गुटमा जान नेताहरू खुट्टा उचालेर बार्गेनिङ गरिरहेका छन् । संस्थापनमा पदाधिकारीका आकांक्षी धेरै भएपछि पद पाउने सम्भावना न्यून देखेर नेताहरूले आफ्नो पद सुरक्षित गर्नका लागि त्यो तयारी गरेको अनौपचारिक रूपमा बताउने गरेका छन् ।

 १२औँ महाधिवेशनमा खुला २५ सिटमध्ये १५औँ नम्बरमा केन्द्रीय सदस्य जितेर सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट पारित गरी मनोनित महामन्त्री बन्न सफल कृष्णप्रसाद सिटौला अहिले महामन्त्री बन्नका लागि अनेक तिकडम रचिरहेका छन् । उनले सभापति कोइरालालाई आफूलाई प्रत्यक्षतर्फको महामन्त्रीको उम्मेदवार नबनाएमा क्याम्प परिवर्तन गर्ने चेतावनी दिइसकेको कोइराला निकट स्रोत बताउँछ । स्रोतका अनुसार सिटौलाले नेता देउवासँग निरन्तर रूपमा भेटघाट गरिरहेका छन् । भेटमा उनले कि आफूलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने, त्यो गर्न नसक्ने भए विकल्पका रूपमा संसदीय दलको नेता बनाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रतिबद्धता जनाए महाधिवेशनमा सभापतिमा आफ्नो पूर्णरूपमा सहयोग रहने बताउँदै आएको स्रोत बताउ“छ ।

 उनी मात्रै होइन, १२औँ महाधिवेशनमा संस्थापनबाट प्रत्यक्षतर्फ महामन्त्री जितेका प्रकाशमान सिंह पनि अहिले ‘पर्ख र हेर’को स्थितिमा छन् । संस्थापन तर्फबाट आफूले कुनै पद नपाउने अवस्थामा देउवा पक्षमा गएर भए पनि कुनै न कुनै पदमा रहिरहने रणनीति बुन्न सिंह तल्लिन रहेको उनी निकट स्रोतले बतायो । तर, सिटौलाजस्तो सिंह बार्गेनिङ नै सुरु गर्न थालिनसकेकोे स्रोत बताउ“छ । १२औँ महाधिवेशनमा सिंह देउवा पक्षबाट संस्थापनमा आएर महामन्त्रीको उम्मेदवार बनेका थिए । उनी फुटेको कांग्रेस एक भएपछि बनेको कांग्रेस केन्द्रीय समितिमा उपसभापति थिए । त्यस्तै, गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता पनि ‘पर्ख र हेर’को स्थितिमा छन् । अघिल्लो महाधिवेशनमै पदाधिकारीको दाबी गरेकी उनले अहिले जुन पक्षबाट पदाधिकारी पाइन्छ, त्यही पक्षमा रहने खुलमखुला बताउँदै आएकी छन् । केही दिनअघि उनले एउटा कार्यक्रममा वर्तमान सभापति सुशील कोइराला सभापतिको उम्मेदवार नबनेमा आफू सभापतिको उम्मेदवार बन्ने बताएकी थिइन् ।

 उनको त्यो घोषणा पदाधिकारी बन्नका लागि बाटो खुला गर्ने बार्गेनिङ रहेको नेताहरूको बुझाइ छ । पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि संस्थापन गुटबाट देउवा गुटमा जान तयार भएर बसेका छन् । नेता देउवासँग उनले आफूलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखेको देउवा निकट स्रोतले बतायो । कांग्रेसको नर्सरीको रूपमा रहेको भ्रातृसंस्था नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेर कांग्रेसको केन्द्रीय समितिमा पुगेका संस्थापन निकटस्थ धनराज गुरुङ, चन्द्र भण्डारी र गगन थापा पनि देउवा पक्षमा जाने लगभग निश्चित रहेको उनीहरू निकटस्थ स्रोत बताउँछ । गुरुङ नेवि संघका पूर्वअध्यक्ष हुन भने थापा र भण्डारी पूर्वमहामन्त्री हुन् । यी सबै नेता केन्द्रीय सदस्य तथा सांसद समेत हुन् । विधानतः सभापतिले मनोनयन गर्न पाउने केन्द्रीय सदस्यमा मनोनयन गरेका केशवकुमार बुढाथोकी पनि देउवा पक्षमा पुगेको चर्चा महाराजगन्जमा चल्ने गरेको छ । देउवा छोडेर संस्थापनमा आउन तयारी गर्नेहरू नेता शेरबहादुर देउवालाई छोडेर संस्थापन गुटमा आउनका लागि पनि नेताहरूले लबिङ सुरु गरेका छन् । १२औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनि पराजित भएका विमलेन्द्र निधि संस्थापनमा आउने लगभग पक्का भएको निकट स्रोत बताउँछ । उनी संस्थापनका तर्फबाट महामन्त्रीको प्रत्यक्ष तर्फको उम्मेदवार बन्ने चर्चा महाराजगन्जमा चल्ने गरेको छ । १३औँ महाधिवेशनमा वर्तमान सभापति सुशील कोइराला पुनः सभापतिको उम्मेदवार बन्ने र उनको प्रस्तावक निधि बन्ने कोइराला निकट कांग्रेसी बताउँछन् । १२औँ महाधिवेशनमा देउवाको प्यानलबाट कोषाध्यक्ष जितेकी चित्रलेखा यादव पनि संस्थापनमा भित्रिएकी छन् । त्यस्तै, भ्रष्टाचार गरेको प्रमाणित भई जेल जीवन व्यतित गरेर निस्केका नेता खुमबहादुर खड्का पनि महामन्त्रीको उम्मेदवार बनाएमा आफूले संस्थापनको उम्मेदवारलाई सहयोग गर्ने सूचना सभापति सुशील कोइरालासमक्ष पुर्याएको निकटस्थ स्रोतले बतायो ।

 उनी कांग्रेसमा कार्यकर्तामाझ लोकप्रिय नेताको रूपमा परिचित छन् । साथै, उनले हिन्दू धर्मको वकालत गर्दै हिँडेका छन् । त्यस्तै, नेता देउवाका हनुमान र सुदूरपश्चिमकै भए पनि को बढी निकट भन्ने विषयमा खटपट हुँदा पानी बाराबारको स्थितिमा रहेका रमेश लेखक र एनपी साउदमध्ये एकजना संस्थापनमा आउनका लागि बार्गेनिङमा रहेको बताइन्छ । किनकि, दुवै एउटै कञ्चनपुर जिल्लाका र इगोको लडाइँमा रहेकाले अब एकै स्थानमा बस्न नसक्ने अवस्थामा पुगेका छन् । संस्थापन भने देउवा पक्षीय नेता बालकृष्ण खाँडलाई संस्थापनमा तान्नका लागि प्रयास गरिरहेको छ । ०४६ सालको जनआन्दोलनका बेला नेपाल विद्यार्थी संघको अध्यक्ष र ०६२÷६३ को जनआन्दोलनताका तरुण दलको दुई कार्यकाल अध्यक्ष रहेका खाँड जनाधार भएका नेताका रूपमा परिचित छन् । तर, उनी संस्थापनमा आइहाल्ने सम्भावना भने कम रहेको स्रोत बताउँछ । ठूला जिल्लाका नेतृत्वकर्ता देउवातिर लोयल कांग्रेसमा जिल्ला सभापति प्रभावशाली मानिन्छ । त्यसमाथि मुलुकको राजधानी रहेको काठमाडौं र कांग्रेसको विरासत बोकेको जिल्ला मोरङ कांग्रेसका लागि महत्त्वपूर्ण जिल्लाका रूपमा छन् । १२औँ महाधिवेशनमा दुवै जिल्लामा संस्थापनको उम्मेदवार भनेर सभापति जितेकाहरू अहिले देउवासँग लोयल देखिएका छन् ।

 काठमाडौं सभापति भीमसेनदास प्रधान र मोरङ सभापति अमृत अर्याल नेता देउवासँग निकट देखिएका हुन् । प्राध्यापक संघका सभापति समेत भइसकेका प्रधान काठमाडौंकै बासिन्दा प्रकाशमान सिंहसँगको इगोका कारण देउवा गुटमा पुगेका हुन् । काठमाडौं कांग्रेसमा प्रकाशमान र प्रधानको छुट्टाछुट्टै गुट छ । मोरङका अर्याल भने विशेषतः मोरङका नेता डा. मीनेन्द्र रिजाल, महेश आचार्य, सुजाता कोइराला, डा. शेखर कोइराला र आमोद उपाध्याय रहँदासम्म संस्थापनबाट नेता बन्न नसकिने निष्कर्षका साथ देउवासँग नजिकिएको स्रोत बताउ“छ । यता, सोलुखुम्बु सभापति आङगेलु शेर्पा केन्द्रीय सदस्य बलबहादुर केसीका कारण देउवा क्याम्पमा पुगेका छन् । सोलु कांग्रेसमा केसी र शेर्पाको पानी बाराबार छ, जसकारण क्रियाशील सदस्यताको पनि विवाद रहेको छ । त्यस्तै, ओखलढुंगा सभापति प्रदीप सुनुवार पनि कांग्रेसका पूर्वसभापति बालकृष्ण दाहालका कारण संस्थापनसँग चिढिएर देउवा क्याम्पमा पुगेका छन् । तर, देउवालाई सहयोग गर्ने जिल्ला सभापतिहरू संस्थापन निकट हुन खोजेको पाइएको छैन । १२औँ महाधिवेशनमा देउवालाई छोडेका थिए हस्तीहरूले नेता देउवाले ०५८ सालमा पार्टी फुटाउँदा सहयोग गरेका हस्तीहरूले ०६४ मा फुटेको पार्टी एक भएपछि पहिलोपटक भएको कांग्रेसको १२औँ महाधिवेशनमा घात गर्दै संस्थापनमा प्रवेश गरेका थिए । तत्कालीन उपसभापति प्रकाशमान सिंहसहितका कम्तीमा आधा दर्जन केन्द्रीय सदस्यले देउवालाई लात हान्दै संस्थापनमा भित्रिएका थिए । यसरी भित्रिनेमा बलबहादुर केसी, दीपकुमार उपाध्याय, डा. नारायण खड्कालगायत थिए । १२औँ महाधिवेशनमा देउवा गुटबाट चुनाव लडी केन्द्रीय सदस्य जितेका डा. मीनेन्द्र रिजाल पनि अहिले संस्थापन निकट छन् ।

0 comments

Write Down Your Responses