अख्तियारले बैंक खाता रोक्का गरेका सांसदलाई ओलीले बोलाए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक खाता रोक्का गरेर वयानका लागि बोलाएका सांसदहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहबारमा छलफलका लागि बोलाएका छन् । एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसहित प्रभावशाी नेता र सांसदहरुलाई अख्तियारले पत्र काटेपछि एमाले नेतृत्व गम्भीर भएको हो । प्रधानमन्त्री ओलीसहित पार्टीका बरिष्ठ नेताहरुले अख्तियारको पत्रका सम्बन्धमा भावी कदमबारे सांसदहरुसँग छलफल गर्ने स्रोतले जनाएको छ ।

 पत्र काटिएका नेताहरुले यो प्रकरण राजनीतिक ‘कु’ गर्ने डिजाइनबाट आएको भन्दै यसमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । नियोजितरुपमा अख्तियार प्रमुख लोकमानसिंह कार्की अघि बढेको संकेत मिलेको भन्दै एमाले नेताहरुले यसबारे अन्य दलसँग पनि थप छलफल चलाएका छन् । अख्तियारका अन्य पाँच आयुक्तहरुले समेत पत्र अख्तियारले नभई प्रमुख आयुक्त लोकमानसिंह कार्कीले व्यक्तिगत प्रतिशोधका हिसाबले पठाएको जानकारी सम्बद्ध दलका नेताहरुलाई गराइसकेका छन् ।

 आयुक्तहरुले प्रमुख दलका नेताहरुलाई भेटेर लोकमानले आफूहरुलाई भूमिकाविहीन बनाएर अख्तियारलाई असंवैधानिक रुपमा व्यक्तिगत प्रतिशोधको अस्त्र बनाएको जानकारी दिएको एमालेका एक नेताले अनलाइनखबरलाई बताए । लोकमानबाट भूमिकाविहीन बनाइएका आयुक्तहरुले सामुहिक रुपमा प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउन लागेको समाचार केही दिनअघिमात्रै अनलाइनखबरमा प्रकाशित भएको थियो । अख्तियारले पछिल्लोपटक एमाओवादी महासचिव कृष्णबहादुर महरासहितका अन्य दलका सांसद र केही बहालवाला सचिव एवं पूर्वमन्त्रीहरुको पनि खाता रोक्का गराएर पत्र काटेको छ ।

2 comments

ghusyaaharu le aafu nirdosh bhaako pramaaNit garan adaalat chh kin paarty maa araghelo

परिवर्तित परिस्थितिमा उपयूक्त हुन्न भनेर..मुलुक संकटमा रहेको बेला भ्रस्टचारी लाई कारबाही नै न गर्ने त ....मुलुक संकटमा रहेको बेला चोर लाई जेल पनि न हाल,,मुलुक संकटमा रहेको बेला तिमि हरु ले जति लुटे पनि अख्तियार चुप लागेर बस्ने त अब

Write Down Your Responses