कर्मचारी, सेना र प्रहरीले रक्सी र कुखुरासँग साटे राहत

नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ मुस्किल पर्छ । तर, घटनाले त्यही पुष्टि गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदामबाट राहत सामग्री गायब भएको घटना सुनेर भूकम्पपीडित छक्क परेका छन् । ‘कार्टुनभित्र बाल्टी, थाल र प्रेसर कुकर राखिएको थियो,’ समितिका एक सदस्यले भने, ‘कार्टुनबाट प्रेसर कुकर गायब पारियो । थाल र बाल्टी जस्ताको तस्तै छ ।’ भूकम्पका बेला जिविसको गोदामको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो ।

 प्रहरीले नै राहत सामग्री चोरेपछि गोदाम नेपाली सेनाको ब्यारेकमा सारियो । ब्यारेकको भण्डार कक्षबाट पनि स्तरीय, महँगा र राम्रा राहत सामग्री हराएको स्रोतले कान्तिपुरलाई बतायो । ‘राहत सामग्री कर्मचारी, सेना प्रहरीले रक्सी र लोकल कुखुरासँग साटेर भोज गरे’, उनले भने । भोजमा प्रमुख जिल्ला अधिकारीसमेत सहभागी भएको ब्यारेक स्रोतले जनाएको छ । कति राहत सामग्री आए, कति गोदाममा बाँकी छ आधिकारिक तथ्यांक समितिसँग छैन । ‘सयौं राम्रा टेन्ट, ब्ल्यांकेट, कुकर, फिल्टर र चामललगायत खाद्यान्न कर्मचारी र सेना प्रहरीका अधिकृतले घरसम्म पुर्‍याएँ,’ गोदाममा खटिएका कर्मचारीले भने । प्रजिअ उद्धव तिमल्सेनाले गोदाम हेर्न तनहुँ व्यास नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र हडखलेलाई काज सरुवा गरेर ल्याएका थिए । उनैले सबैभन्दा बढी राहतमा अनियमितता गरेको स्रोतको दाबी छ । प्रजिअ र राजनीतिक दलको निर्देशनमा उनले राहत सामग्री वितरण गरेका थिए । समितिको निर्देशनमा मात्रै राहत सामग्री बाँडेको प्रजिअ तिमल्सेनाले दाबी गरे ।

 उनले ब्यारेकभित्र गोदामको सामग्री नहराउनु पर्ने बताए । ‘राहत सामग्री आवश्यकताअनुसार वितरण गर्ने र बाँकी रहेको रेडक्रसलाई जिम्मा लगाउने निर्णय भएको छ,’ उनले भने । पहुँचका आधारमा भन्दा पनि आवश्यकताका आधारमा सामग्री वितरण गरिएको दाबी उनले गरे । राजनीतिक दलहरू पनि राहत अनियमितता गर्नबाट अछुतो रहेनन् । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाललगायत ८ पार्टीलाई स्तरीय म्याट भागबन्डा गरेर वितरण गरियो । भूकम्पपीडितका लागि आएको म्याट पार्टीहरूले भागबन्डा गरेर लिएका हुन् । १ हजार ५ सय म्याट आफूखुसी बाँडेर सकिएको छ । छोप्राक गाविसमा सबैभन्दा बढी राहत सामग्री वितरण भएको समितिको तथ्यांक छ । छोप्राक अन्य गाविसको तुलनामा भूकम्पले अत्यन्तै कम क्षति भएको हो । नेताहरूले राजनीतिक पहुँचका आधारमा राहत साम्रगी वितरण गर्दा कम प्रभावित गाविसमा धेरै राहत पुगेको कर्मचारीहरू बताउँछन् । दलहरूले अस्थायी टहरो बनाउने बेला स्वयंसेवक खटाएका थिए । तिनका लागि भन्दै कांग्रेस, एमाले र एमाओवादीले राहतमा आएको चामल, नुन, तेल, चिउरा, दाललगायत सामग्री ठूलो परिमाणमा लगेको राहत वितरण समितिका सदस्यहरू बताउँछन् । भूकम्पपीडितहरूका लागि आएको १० लाख मूल्यबराबरको राहतको जेनेरेटर प्रमुख जिल्ला अधिकारीले आफ्नो निवासमा लगेर जडान गरे ।

 ८ वटा जेनेरेटर सेना, प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी कार्यालयले प्रयोग गर्दै आएका छन् । भूकम्पबाट अति प्रभावित गाविसहरू स्थानीय लघु जलविद्युत् आयोजना मर्मत नहुँदा अझै पनि अन्धकारमा छन् । चिनियाँ सरकारले जेनेरेटरसहित ८० वटा स्तरीय टेन्ट राहतका लागि पठाएको थियो । ती टेन्ट पनि सरकारी कार्यालयहरूले प्रयोग गरेका छन् । भवनमा क्षति नपुगेका सेना, सशस्त्र र नेपाल प्रहरीले पनि सुरक्षित सुत्न टेन्ट लगेर टाँगेका हुन् । कतिपय दुर्गमका भूकम्पपीडितले अहिलेसम्म टेन्ट नपाएर पालमै बास बस्न बाध्य छन् । १५ सयभन्दा बढी स्तरीय टेन्ट सरकारी कार्यालय र विद्यालयहरूले मात्र प्रयोग गरेका छन् । ती अहिले उपयोगविहीन भएको भूकम्पपीडितहरू गुनासो गर्छन्

0 comments

Write Down Your Responses