‘भारतीय शिविर नेपाल विरोधी गतिविधिको अखडा’
सरकारलाई विप्लव माओवादीको ज्ञापनपत्र
विराटनगर :
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतीय राजदूतावासको विराटनगरस्थित शिविर कार्यालयलाई ‘नेपाल विरोधी गतिविधि सञ्चालन गर्ने अखडा’ को संज्ञा दिँदै अविलम्ब हटाउन ध्यानाकर्षण गराएको छ ।
पार्टीको तर्फबाट जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुधबार ज्ञापनपत्र पठाएर शिविर तुरुन्त हटाउन माग गरिएको छ ।
माओवादीले कांग्रेस, एमाले, एमाओवादी, उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ मोरङलाई पनि बोधार्थ ज्ञापनपत्र बुझाएको छ ।
पत्रमा २०६५ सालमा भीषण वर्षा भई कोशीबाँधको ढोका नखोलिँदा बाँध फुटेर नेपालका सयौं गाउँ बाढीको चपटेमा परेको र कोशी सम्झौताअनुसार मर्मत तथा बाढी नियन्त्रणको जिम्मा भारतको भएअनुसार विराटनगरमा खडा शिविर सरकारले हटाउन आग्रह गर्दासमेत नहटाउनु भारतको हेपाहा प्रवृत्ति भएको उल्लेख छ ।
माओवादीले ‘भारतले अटेरी गर्दै अझ स्थायीरुपमा बस्ने र त्यसलाई नेपाल गतिविधिको अखडा बनाउने षड्यन्त्र गरिएकोले यो हेपाहा प्रवृत्तिको अन्त्य हुनुपर्ने’ भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
शिविर राख्नुको प्रयोजन पूरा भइसक्दासमेत नहटाउनुले त्यहीँबाट नेपाल विरोधी गैरकुटनीतिक हर्कत भइरहेको ज्ञापन पत्रमा जनाइएको छ ।


0 comments
Write Down Your Responses