तेल बोकेको भन्दै यसरी जलाइयो ट्रिपर
भैरहवा – रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्ड अन्र्तगत परसहवामा पेट्रोलियम पदार्थ बोकेको ट्रिपरमा अज्ञात समूहले आगजनी गरेका छन् । आगजनीबाट बा ३ ख ६६८८ नम्बरको ट्रिपर पूर्ण रुपमा ध्वस्त भएको छ । श्रोतका अनुसार परसहवामा रहेको सोखा भन्ने खेदू प्रसाद गुप्ताको घरबाट डिजल लोड गरि भैरहवातर्फ आउदै गरेको ट्रिपरलाई बनगाईबाट केही युवाहरुले रोकेका थिए ।
भैरहवा जान हिडेको ट्रिपर बनगाईबाट फर्केर परसहवा जाने क्रममा युवाहरुले ट्रिपरलाई लखेट्दै गई तेल दिने गुप्ताकै घर अगाडी आगजनी गरेका हुन् । बाटोमा रहेको ईलाका प्रहरी कार्यालय बेथरीका सुरक्षाकर्मिले ट्रिपर रोक्न खोज्दा समेत ट्रिपर नरोकिएको बुझिएको छ ।
आगजनी गरेको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्दपी यस अघि नै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कालोबजारी गरिएको तेल नियन्त्रणमा लिई नष्ट गर्ने चेतावनी दिएको कारण उक्त ट्रिपर पनि मोर्चाका कार्यकर्ताले नै आगजनी गरेको हुन् सक्ने आशंका गरिएको छ । यसै बिच रुपन्देही प्रहरीले मर्चवारबाट १ ट्रक सहित ४ हजार ५ सय लिटर डिजल बरामद गरि भैरहवा भन्सार चलान गरेको छ ।


0 comments
Write Down Your Responses