चीनबाट एकतिहाइ इन्धन ल्याउने पक्का
वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको पहलमा मुलुकको कुल खपतको करिब एकतिहाइ इन्धन चीनबाट दीर्घकालसम्म आउने पक्का भएको छ । स्रोतका अनुसार मन्त्री पुनले सोमबार चिनियाँ अधिकारीसँग भेटेर दीर्घकालसम्म एकतिहाइ इन्धन खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री पुन प्रधानमन्त्री ओलीको पत्र बोकेर चीन गएका थिए ।
नेपाललाई तेल बेच्न तयार चीनले नेपाल सरकारबाट दीर्घकालसम्म तेल किन्ने प्रतिबद्धता खोजेको थियो । मन्त्री पुन चीन पुगेर दीर्घकालसम्म एक तिहाइ इन्धन खरिद गर्ने प्रतिबद्धता जनाएपछि चिनियाँ सरकारले सोमबार नै आयल निगमलाई इमेलमार्फत इन्धन खरिद सम्झौता गर्न बेइजिङ बोलाएको छ । चीनले हप्ता दिनभित्रै नेपाललाई इन्धन निर्यात गर्ने प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।
चीनको सरकारी कम्पनी चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)ले सोमबार साँझ सम्झौता गर्न बेइजिङ आउनू भनी पत्राचार गरेको आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए । इन्धन सम्झौता गर्न आयल निगमको टोली दुई–तीन दिनभित्रै बेइजिङ जाने तय भएको छ ।


0 comments
Write Down Your Responses