प्रचण्ड’ को पूरक परीक्षा

श्रावण २०, २०७३- आठ वर्षअघि गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग युद्ध र शान्तिका आधा–आधा सपना थिए। दोस्रोपल्ट प्रधानमन्त्री हुँदा उनी कुन बाटो हिँडौं भन्ने अलमलमा छैनन्। बाह्रबुँदे सहमति हुँदै शान्ति सम्झौता भइसक्दासम्म पनि संसदीय प्रतिस्पर्धालाई रणनीतिक उपयोग गर्दै जनवादी क्रान्तितिर जाने कि यसैमा अभ्यस्त हुने, दाहाललाई छनोट गर्न समय लाग्यो। बुधबार संसद्मा बोल्दा उनले त्यही शब्द त प्रयोग गरेनन्, तर कार्यदिशामा द्विविधाका कारण आफ्ना निर्णयबाट देशले मूल्य चुकाउनुपरेको पहिलोपल्ट खुला–खुला स्विकारे। ‘कतिपयले मलाई अस्थिर पनि भन्छन्, तर म गतिशील हुँ जस्तो लाग्छ। मैले विगतमा राम्रा मात्रै होइन, थुप्रै गल्तीसमेत गर्न पुगें, त्यसको मूल्य देशले समेत चुकाउन पुग्यो,’ दाहालले भने।

 भाषणको ‘टोन’ सुन्दा उनी पछिल्लो दशकका घुम्तीबाट सिक्न खोजिरहेका छन् भन्ने बुझ्न सकिन्थ्यो। ती घुम्तीहरू– जसले पहिलोपटक प्रधानमन्त्री हुँदाका ‘प्रचण्ड’ लाई बदले। अनि ‘सुधारिएको संसद्’ को खेलभित्र अभ्यस्त बन्न उत्प्रेरित गरे। युद्ध बिसाएर चुनावमार्फत पहिलो ठूलो दल बनिसक्दा पनि पार्टीभित्रै सहकर्मी बाबुराम भट्टराई, मोहन वैद्यका अलग–अलग स्कुल तयार हुँदै थिए। भट्टराईले लोकतान्त्रिक गणतन्त्रको लाइन निरन्तर अघि बढाउनुपर्ने मत राख्दै आए। वैद्यचाहिँ पुरानै संसदादमा फस्ने भन्दै जनवादी क्रान्तिकै कार्यदिशा छाड्न नहुनेमा थिए। भन्न त दाहाल, दुई स्कुललाई फ्युजन गर्ने भनिरहन्थे, तर यथार्थमा कुन बाटो समाउने द्विविधामै थिए। सांगठनिक सन्तुलन मिलाउन दुवै पक्षको रणनीतिक उपयोगमै केही वर्ष गुजारे। त्यसको सिकार पहिले त उनै भए– सेनापति काण्डपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्‍यो। चार वर्षपछि बिनासंविधान पहिलो संविधानसभाको विघटन हुन पुग्यो। चामत्कारिक नेतृत्व भनी प्रचार गरिएका दाहाल पहिलो परीक्षामा फेल भएको विश्लेषण भित्र/बाहिर दुवैतिर हुन पुग्यो। पहिलो सभा अवसान भएलगत्तै दाहालले सहकर्मी वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्दलगायत ठूलो पंक्ति गुमाए। उनीहरू नयाँ पार्टी खोल्न लागे। दोस्रो संविधानसभा चुनावले माओवादी आयतन स्वात्तै घटायो। दाहाल राजनीतिका केन्द्रीय खेलाडी त रहिरहे। शक्ति सन्तुलनको तराजुमा भने कांग्रेस, एमालेको पल्ला भारी भइसकेको थियो। उनीसँग कुनै समय सहकार्य गरेका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवको भनाइमा पहिलो प्रधानमन्त्रीकाल ‘पुरानो ढलिसकेको, तर नयाँ नबनिसकेको प्रचण्ड’ को परिणाम थियो। संसद्मा बुधबार बोल्दा दाहालले माथिका पंंक्ति त उच्चारण गरेनन्, तर आफूले विगतमा सकारात्मक काममात्रै होइन, थुप्रै गल्ती गरेको, त्यसको मूल्य देशले समेत चुकाउनु परेको बोल्दा उनी पछिल्लो दशकका गल्ती प्रतिविम्बित गरिरहेका छन् भन्ने बुझ्न सकिन्थ्यो। भुइँचालोलगत्तै उनले ३० दलीय विपक्षी गठबन्धनको कित्ता बदले। गत वर्ष जेठको सोह्रबुँदे सहमतिलगत्तै दोस्रो सभाबाट संविधान बन्यो। संविधान बनेलगत्तै सहयात्री भट्टराई नयाँ शक्ति खोल्न लागे। यी सबै घटनावलीले हिजोका ‘प्रचण्ड’ लाई पुनर्परिभाषित गर्‍यो। त्यसको छनक दिँदै दाहालले संसद्मा भने, ‘जनयुद्ध नेतृत्व गर्ने मौका पाएँ। निष्कर्षमा पुर्‍याउन १० वर्ष लाग्यो। शान्ति प्रक्रियामा आएसँगै ‘नयाँ नेपाल’ को सपना देखाइयो, तर त्यसले गोरेटो पाउन अर्को १० वर्ष लाग्यो।

 देशमा देखिएका समस्याहरू समाधान गर्न इतिहासले अघि सारेको स्वाभाविक पात्र बन्न आइपुगेको छु।’ दाहालका स्विकारोक्तिले उनमा पर्याप्त बदलाव आएको छ भन्ने बुझ्न सकिन्थ्यो। शेरबहादुर देउवा प्रधानमन्त्री छँदा उनैलाई ४० बुँदे मागपत्र बुझाएर बन्दुक उठाएका दाहाललाई मतपेटिकाबाट प्रधानमन्त्री बनाउन उनै देउवा अघि सरे। बुधबार संसद्मा बोल्दा उनले शान्तिपूर्ण प्रतिस्पर्धाको महत्त्वबारे अलिकति प्रकाश पनि पारे। देउवाकै पुटमा दोस्रो परीक्षामा बसेका दाहाल अझै पनि परीक्षणमै रहेको बताउँछन्, फोरम अध्यक्ष यादव। ‘प्रचण्डजी आफूले स्थापित गरेको राजनीति त छाडिसक्नुभयो, अब देशभित्रको विभेद हटाउनका लागि प्रयत्न गर्नुभयो भने उहाँका लागि आफ्नो औचित्य पुष्टि गर्ने अवसर एक पटकलाई आएको छ,’ यादवले कान्तिपुरसँग भने। यादवले भनेझैं पहिलोपटक प्रधानमन्त्री बन्दाझैं दाहालसँग यसपल्ट ठूला सपना र योजना छैनन्। उनले चार एजेन्डा पूरा गर्न सके आफूलाई सफल सम्झने छन्, जो उनी आफैंले उम्मेदवारी घोषणायता दोहोर्‍याउँदै आएका छन्। http://bit.ly/2aJXeeD

0 comments

Write Down Your Responses