एभरेष्ट ग्यास उद्योगमा तोडफोड, प्रहरीको हतियार खोसियो
स्थानीयबासी मंगलबार विहानैदेखि लाइन बसेका थिए । तर, दिउँसोसम्म पनि ग्यास नपाएपछि तोडफोड गरेका हुन् । स्थानीयका अनुसार उनीहरुले पहिला पनि उद्योगसँगै रहेको डिपोबाट ग्यास लिने गरेका थिए ।
स्थानीयबासीले आइतबार उद्योगसँग ३०० सिलिण्डर ग्यास मागेका थिए । तर, उद्योगका सञ्चालक शिव घिमिरेले मंगलबार स्थानीयलाई एक हजार ग्यास दिने आश्वासन समेत दिएका थिए ।
उद्योग सञ्चालकको आश्वासन अनुसार स्थानीयबासी मंगलबार विहानबाटै लाइनमा बसे भने कुपन समेत बाँडिएको थियो । तर, दिउँसोसम्म उद्योगले ग्यास दिएन ।
प्रहरीले आफैं ग्यास बाँड्ने भन्दै प्रयास गरिरहेको बेला आक्रोसित स्थानीयबासीले उद्योगमा नै तोडफोड गरेका छन ।
‘आज ग्यास दिन्छ भनेकाले हामी ६/७ सय मानिस लाइनमा बसेका थियौं । तर, दिउँसोसम्म पनि व्यवस्थापनका कोही आएनन’ एक स्थानीयले भने-‘ग्यास नपाएपछि आक्रोसित भीडले तोडफोड गरेको हो ।’
स्थानीयले उद्योगमा तोडफोड गरेपछि प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । स्थिति अहिले पनि तनावपूर्ण छ ।
स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । स्थानीयले प्रहरीको हतियार र सञ्चार सेट समते लुटेर लगेको घटनास्थलमै रहेका काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले अनलाइनखबरलाई जानकारी दिए ।
घटनामा दुई डीएसपीसहित पाँच प्रहरी घाइते भएका छन् ।


0 comments
Write Down Your Responses