कांग्रेसलाई झण्डासहित सडकमा नआउन मधेसका आन्दोलनकारीको चेतावनी
तराई मधेसका आन्दोलनकारीले नेपाली कांग्रेसलाई पार्टी झण्डासहित आन्दोलनमा आउन नदिने भएका छन् । मोर्चा कार्यकर्ताको यस्तो निर्णयले जनकपुरमा तनाव उत्पन्न भएको छ । नेपाली कांग्रेस धनुषाले आज आइतबार जनकपुरमा प्रदर्शनको तयारी गरेको छ । तर, मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठवन्धनले पार्टीको झण्डासहित आन्दोलनमा नआउन दबाव दिइरहेका छन् ।
कांग्रेसको कार्यक्रम सुरु हुनुअघि नै आन्दोलनकारीहरु सडकमा आएका छन् । र, उनीहरुले सहरका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
मधेसी गठवन्धनमा आवद्ध नेपाल सदभावना पार्टीका धनुषा अध्यक्ष रमण सिंहले अनलाइनखबरसँग भने, ‘हामीले कांग्रेसलाई सडकमा आउने हो भने कालो झण्डा लिएर आउन भनेका छौं ।’
कांग्रेस पार्टीको चारतारे झण्डासहित आन्दोलनमा आए कार्यक्रम बिथोल्ने मोर्चाका कार्यकर्ताको चेतावनी छ ।
यसअघि शनिबार आन्दोलनकारीले वीरगञ्जमा कांग्रेसको कार्यक्रम बिथोल्दै झण्डा र ब्यानर जलाएका थिए ।
उता सुनसरीको इटहरीमा भने प्रमुख दलका विद्यार्थीहरुले मधेसी नेतालाई कार्यक्रम गर्न नदिने भन्दै मोर्चाको मञ्चमा आगजनी गरेका थिए ।
मधेसी गठवन्धनमा आवद्ध तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले पनि नेपाली कांग्रेस पार्टीको झण्डासहित आन्दोलनमा आए प्रतिकार हुने बताए ।
‘प्रतिपक्षमा बस्दैमा कांग्रेस दूधले नुहाएको मानिँदैन’ गुप्ताले अनलाइनखबरसँग भने- ‘हामीले आचारसहिता बनाएका छौं र कोही पनि पार्टीको झण्डा लिएर मधेसमा विरोध प्रदर्शनमा सहभागी हुँदैनन् । कांग्रेसलाई पनि हामीले त्यही भनेका छौं ।’
आफूहरुको आग्रहका बाबजुुद कांग्रेस आफ्नो पार्टीको झण्डासहित सडकमा आए प्रतिकार गर्ने उनको चेतावनी छ ।


0 comments
Write Down Your Responses