विद्युतीय प्रविधिको ‘स्मार्ट लाइसेन्स’ वितरण सुरु
सरकारले हस्तलिखित सवारी लाइसेन्सको सट्टा विद्युतीय प्रविधिको स्मार्टकार्ड वितरण सोमबारदेखि सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट लाइसेन्स दिएर सेवाको सुरुवात गरे ।
पहिलो चरणमा यातायात कार्यालय वागमतीमा मात्रै स्मार्ट कार्ड वितरण सुरु गरिने यातायात व्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । ‘विस्तारै देशभर स्मार्ट लाइसेन्स कार्ड वितरण हुन्छ, वागमतीबाट सुरुवात गरेका छौं,’ अधिकारीले भने ।
अबदेखि हस्तलिखित सबै लाइसेन्सलाई स्मार्ट कार्डले विस्थापित गरिने छ ।
विद्युतीय लाइसेन्स कार्ड बैंकको एटिएम जस्तै हुन्छ, जसमा लाइसेन्समा उल्लेख गरिएका सबै विवरण राखिन्छन् । त्यसलाई पढ्न भने विशेष प्रकारको मेसिन आवश्यक पर्छ । स्मार्ट कार्ड बनेपछि नक्कली लाइसेन्स बन्ने, हराउने, चोरिने लगायतका समस्या नरहने विभागको दाबी छ ।


0 comments
Write Down Your Responses