भूकम्पपीडितलाई न्यानो कपडा किन्न तीन अर्ब वितरण
सरकारले भूकम्प प्रभावित २१ जिल्लाका घर पूर्ण रूपमा क्षति भई पाल र टिनको टहरामा बस्दै आएका ३ लाख २ हजार २ सय ६६ परिवारलाई न्यानो कपडा किन्नका लागि तीन अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ । सरकारले शुक्रबार भूकम्पपीडितलाई १० हजार राहत १० दिनभित्र वितरण गरिसक्न सम्बन्धित सबै जिल्लाका प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी जिल्ला दैवी प्रकोप उद्धार कोषमार्फत् न्यानो कपडा खरिदका लागि शुक्रबारसम्म प्रतिपरिवार १० हजारका दरले ३ अर्ब २ करोड २६ लाख ६० हजार रुपैयाँ वितरण गरिसकेको जनाएको छ ।
न्यानो कपडाका लागि प्रतिपरिवार १० हजार राहत वितरण गर्न धादिङमा ८० करोड, सिन्धुपाल्चोकमा ७५ करोड, काभ्रेपलाञ्चोकमा ५० करोड, ललितपुरमा २७ करोड, भक्तपुरमा २० करोड र काठमाडौंमा ४५ करोड, सोलुखुम्बुमा सात करोड, ओखलढुंगामा १० करोड, सिन्धुलीमा १८ करोड, रामेछापमा ४८ करोड, दोलखामा ६५ करोड रुपैयाा निकासा गरिएको छ ।
नुवाकोटमा ७२ करोड, रसुवामा ८ करोड, मकवानपुरमा ६० करोड, चितवनमा ५० करोड, गोरखामा ४० करोड, लमजुङमा आठ करोड, तनहुँमा चार करोड, स्याङ्जामा चार करोड, पर्वतमा तीन करोड, गुल्मीमा दुई करोड, पाल्पामा एक करोड १२ लाख र बाग्लुङमा एक करोड रुपैयाँ निकासा गरिएको गृहको विज्ञप्तिमा उल्लेख छ ।


0 comments
Write Down Your Responses