नाकाबन्दीले २० लाख बेरोजगार

नाकाबन्दी र तराई आन्दोलनले विकास निर्माणका काम ठप्प हुँदा करिब २० लाख श्रम शक्ति बेरोजगार भएका छन्। अनौपचारिक क्षेत्रमा ९० लाखभन्दा बढी श्रम शक्ति आबद्ध छन्। यसमध्ये २० लाख पूर्णरूपमा बेरोजगार भएका हुन् । बाँकी श्रम शक्ति अर्धबेरोजगार भएका छन्। नाकाबन्दी तत्काल नहटे उनीहरूले बिहानबेलुकाको हातमुख जोर्नसमेत सक्ने छैनन्। 

यसबाट तत्कालै वैकल्पिक उपायसहित कामको व्यवस्था हुन नसके २० लाख जनसंख्या भोकमारीको मारमा पर्ने देखिएको छ। करिब चार महिनादेखिको तराई आन्दोलन र दुर्ई महिनाभन्दा बढीदेखि जारी भारतीय नाकाबन्दीका कारण विकास निर्माणका काम ठप्प हुँदा अनौपचारिक क्षेत्रका कामदार बेरोजगार भएका हुन्। नाकाबन्दी जारी रहे बाँकी श्रम शक्ति पनि पूर्णरूपमा बेरोजगार हुने ट्रेड युनियनकर्मीको दाबी छ। मुलुकभरमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी कुल एक करोड २० हजार जनसंख्या रोजगारमा आबद्ध छन् । नाकाबन्दी लम्बिंदै जाँदा सरकारीबाहेक अन्य औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी तथा कामदारसमेत प्रभावित भएका छन्।

 तराई क्षेत्रमा सञ्चालित कतिपय उद्योगधन्दाले कामदारलाई नियमित तलब दिन नसक्ने अवस्थामा पुगेको उद्यमीको भनाइ छ। तराईका ८० प्रतिशत उद्योगधन्दा यतिबेला बन्द छन्। इन्धन र कच्चापदार्थ अभावका कारण उद्योग बन्द गर्नुपरेको उद्योगपति बताउँछन्। कतिपय उद्योग असुरक्षाका कारण सञ्चालन हुन सकेका छैनन्। नाकाबन्दीका कारण निर्माण क्षेत्रमा काम गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । इन्धन अभावले दुई महिनादेखि विकासनिर्माणका काम ठप्प भएको छ।

0 comments

Write Down Your Responses